झापा, माघ २१ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधान गर्न संघ सरकारले वार्ता समिति गठन गरेको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् । तर ती मन्त्रालयका प्रतिनिधिको नाम गृह मन्त्रालयले खुलाएको छैन ।

गृह मन्त्रालयले केही दिनअघि वार्ता समिति गठन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । तर संघीय मामिला मन्त्रालयले यो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्नु उपयुक्त हुने व्यहोराको पत्र पठाएको थियो ।

त्यसपछि गृहबाटै वार्ता समिति गठन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा आइतबार जारी विज्ञप्तिमा वार्ता टोलीले तत्कालै काम थाल्ने उल्लेख गर्दै आन्दोलनरत पक्षलाई समेत घोषित कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधान गर्न अनुरोध गरिएको छ ।
आन्दोलनरत पक्ष भने पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनाको रिहाइ र केबलकार निर्माण स्थगनपछि मात्रै वार्तामा बस्ने अडानमा छ । यसअघि उनीहरूले निर्माणस्थलबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने माग पनि राख्ने गरेका थिए तर पछिल्लो समय यो माग राखिएको छैन ।

पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ भने लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमकमा आन्दोलनकारीले प्रहरीको गाडीको सिसा फुटाएपछि एक राउन्ड हवाई फायर गरेको उनले दाबी गरे । आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुई पांग्रे सवारी (मोटरसाइकल), तीनपांग्रे (टेम्पो) समेत चल्न दिएका छैनन् । यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ ।

बन्द खुलाउने र वार्ता गर्ने विषयमा आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । आन्दोलनरत समूहमा आबद्ध राजनीतिक दलका प्रतिनिधि, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष, जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधि छलफलमा सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्