झापा, माघ २१। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोधमा आन्दोलित बन्दकर्ताहरुले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।
झापामा एउटा र इलाममा दुईवटा सवारी साधनमा उनीहरुले तोडफोड गरेका हुन् । आज दिउँसो करिब २ः३० बजे झापाको कमल.–४ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको मितेरी यातायातको बसलाई दुईवटा मोटरसाइकलमा आएका ३÷४ जना बन्दकर्ताहरुले ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा प्रहारबाट बसको अगाडिको सिसामा एउटा प्वाल परेको छ ।
उता आज दिउँसो ३.२५ बजे इलाम माङसेबुङ गाउँपालिका ३ दोभानस्थित भित्री सडकखण्डमा पाँचथरको रविबाट भित्री बाटो टोड्के– कुसुन्डे हुँदै झापातर्फ आउँदै गरेको मे १ ज १३६४ र मे.१ ज ३३०५ नम्बरको बोलेरो गाडीलाई अन्दाजी १०–१२ जनाको संख्यामा मोटरसाइकलमा आएका बन्दकर्ताहरुले रोकेर दुवै गाडीको सबै सिसा फुटाएका छन् । घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी पञ्चमीबजार बाँझोबाट प्रहरी टोली खटिएको र बन्दकर्ताहरु झापातर्फ आएको बताइएको छ ।