झापा,माघ २२ । सरकारले निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन, आपूर्ति प्रणाली सबलीकरण गरी कुल गार्हस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति, २०७२ लाई प्रतिस्थापन गरेर वाणिज्य नीति, २०८१ कार्यान्वयनमा ल्याएको छ । वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउनु, निर्यात प्रवर्धन गर्दै आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार असन्तुलन कम गर्नु, व्यापारजन्य पूर्वाधारको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्नु नीतिको उद्देश्य रहेको छ ।
व्यापार कूटनीति सुदृढ गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउनु, आपूर्ति शृङ्खला सृदृढ गरी व्यापार लागत घटाउनु, व्यापारमा अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तीन वटै तहका सरकारको सहभागिता समन्वय तथा साझेदारी बढाउने नीतिको मुख्य उद्देश्य रहेको छ ।
वस्तु तथा सेवाको मूल्य अभिवृद्धि र गुणस्तर वृद्धि एवं नवीन प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा नीतिले जोड दिएको छ ।
वस्तु तथा सेवाको निर्यात वृद्धि गर्न व्यापारमा भन्सार तथा गैरभन्सार उपायलाई नियमनमा आधारित र नेपालको व्यापारलाई प्रतिस्पर्धी बनाउने नीतिमा उल्लेख छ । औद्योगिक तथा व्यापारिक पूर्वाधारको विकास र विस्तार, बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार वार्ता तथा सम्झौतामार्फत व्यापार पहुँच विस्तार गर्ने नीतिमा उल्लेख छ ।