झापा,माघ २२ । एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् ।
ताप्लेजुङ पाथीभरा मन्दिरमा केबुलकार निर्माण र त्यसपछि उत्पन्न विवादपछि गरिएको बन्दले इलामका प्रमुख पर्यटकीय स्थल अन्तु, कन्यामसहितका क्षेत्र सुनसान बनेका हुन् । लगातारको बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा पर्यटक आउन छाडेपछि पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । सूर्योदय नगरपालिकाको कन्याम, अन्तु, रोङ गाउँपालिकाको सानो पाथीभरा मन्दिर, सन्दुकपुर गाउँपालिकाको सन्दुकपुरडाँडा, देउमाई नगरपालिकाको पानीटार, इलाम नगरपालिकाको इलाम बजार क्षेत्र सुनसान छन् । कन्यामका पर्यटन व्यवसायी टेकराज गिरीले स्वदेशी पर्यटकको भिड लाग्ने कन्याम बन्द सुरु भएपछि सुनसान बनेको बताएका छन् । उनले कन्याममा घोडचढी व्यवसाय गर्ने, विभिन्न जातजातिका पोसाकको व्यवसाय गर्ने, कोसेलीको व्यवसाय गर्ने र होटेल व्यवसायी बन्दको प्रत्यक्ष मारमा परेको बताए । व्यवसायी गिरीले भने, “झापा हुँदै आउने पर्यटक तलै रोकिएका छन् । बन्दको हल्लाका कारण भारतीय पर्यटक पनि एक जना आएका छैनन ।”
कन्याम जस्तै पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु पनि सुनसान बनेको छ । पर्यटक आउन नसकेपछि अन्तुमा सञ्चालित होमस्टे, कटेज तथा होटेलसहितको व्यवसाय ठप्प भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए । जिल्लाका अन्य पर्यटकीय स्थल सन्दकपुर, पानीटार, चिया बगानसहितका क्षेत्र पनि सुनसान छन् ।