झापा,माघ २२ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो ।
परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । “घरेलु मदिरा उत्पादनका लागि नगरभित्रका सहकारी, होमस्टे सञ्चालन गरिरहेका समूह, दर्ता भएका आमा समूह, महिला समूह वा अन्य समूहलाई मात्रै अनुमति प्रदान गरिएको छ, स्थानीय कच्चा पदार्थ कोदो प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा स्वास्थ्यका लागिसमेत कम हानिकारक छ”, उनले भनिन्, “गुणस्तरयुक्त रक्सी उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरणका लागि नगरपालिकाले घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो, घरेलु मदिरा प्रवद्र्धन कार्यक्रमले नगरवासी महिलाको आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।”
मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले रु. १० लाख बजेट विनियोजन गरेको छ । घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा रु. १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रुपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ । त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।
नगरपालिकाले बनाएको कार्यविधिमा उत्पादकहरुले होमस्टेमा मात्रै आफूले उत्पादन गरेका मदिरा बेच्न पाउनेछन् । उत्पादित मदिरा होमस्टेबाट मात्रै बिक्री–वितरणको व्यवस्था हुने नगरपालिकाले जनाएको छ । होमस्टेबाट किनेर कोसेली वा बिहे, पास्नीजस्ता सांस्कृतिक कार्यमा प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भएअनुसार एक व्यक्तिलाई मात्र मदिरा उत्पादन गर्ने इजाजत दिइने छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्