झापा, माघ २२ । फुटबल खेल्दा आन्द्रामा चोट लागेर सिकिस्त भएका बाबुआमा नभएका एक युवकलाई बिर्तामोड–२ चारपानेकी गोमा निरौला लिम्बूले आर्थिक सहयोग संकलन गरेर ज्यान बचाएकी छन् ।
सामाजिक कार्यमा अग्रसर गोमाले तेह्रथुमको आठराई गाउँपालिका–२ भोटेखानीका २१ वर्षीय नवीन भनिने निमा तेन्जिङ शेर्पाको ज्यान बचाएकी हुन् । गत भदौ १४गते आठराई गाउँपालिका–२ को चिसापानी खेलमैदानमा फुटबल खेल्ने क्रममा नवीनलाई गोलकिप्परसंग ठोक्किँदा पेटको आन्द्रामा चोट लागेको थियो ।
उनलाई भदौ १६ गते बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । गोमाले आफ्नो अगुवाईमा ‘नविन बचाउ अभियान’ शुरु गरेकी थिइन् । त्यसमा नवीनका काका इन्द्रकुमार शेर्माले सहयोग गरेका थिए । सो अभियानबाट ८लाख ४७ हजार ६ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये अस्पताल खर्च २ लाख ३४ हजार ९३६ र अन्य गरी जम्मा ३ लाख ११ हजार ५३६ रुपैयाँ खर्च भएको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बाँकी रकम नवीनको जीविकोपार्जनका लागि बैंकमा फिक्स्ड डिपोजिट गरिने उनले जानकारी दिइन् । नवीनको उपचारका लागि हङकङबाट मात्र ३ लाख २७ हजार रुपैयाँ आर्थिक सहयोग आएको थियो ।
आर्थिक अवस्था नाजुक र आमाबाबुबिहीन नविनको अवस्था देखेर सामाजिक सञ्जालबाट देशबिदेशमा रहेका महानुभावसँग सहयोगको अपिल गरेको गोमाले बताइन् । उनले देश बिदेशबाट प्राप्त सहयोगका कारण नै नवीनको उपचारमा ठूलो सहयोग मिलेको भन्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएकी छन् । उनले आफू पनि आठराईबासी नै भएको र छिमेकी भाइको अवस्था देखेर आफुले अभियान चलाएको बताइन् । यसअघि पनि गोमाले आर्थिक अभावका कारण उपचार नपाएकाहरुलाई अभियान चलाएर सहयोग गरेकी थिइन् ।
कार्यक्रममा पूर्व जनप्रतिनिधि प्रेमप्रकाश सिटौला, बिरामीका दाजु कमल शेर्पा, काका इन्द्रकुमार शेर्पा, बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख बिनोदकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।