विनोद सापकोटा,
शिवगञ्ज ।जेष्ठ नागरिकहरू समाजको महत्वपूर्ण अंग हुन् । जसको अनुभव र ज्ञानले हाम्रो समाजलाई समृद्ध बनाउँछ । तर, समयसँगै जेष्ठ नागरिकको जीवनमा आएको परिवर्तनले उनीहरूको हक, अधिकार र सुविधामा केही व्यवधानहरु खडा गरेको छ ।


जेष्ठ नागरिकहरुको समस्या, गुनासा, तीता— मीठा कुराको अनुभव साटासाट, पारिवारिक मेल— बेमेल लगायत आर्थिक, समाजिक, सांस्कृतिक, धार्मिक कुराको सुनुवाई गर्ने उद्धेश्यले जेष्ठ नागरिकसंग मयेर कार्यक्रम शिवसताक्षीमा संचालित छ । जेष्ठ नागरिकहरुको समस्याहरूलाई समाधान गर्नका लागि नगर प्रमुख मेघाहाङ थोप्राकै पहलमा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम संचालन भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । मंगलबार शिवगञ्जमा एक भव्य कार्यक्रम सम्पन्न भयो । जुन कार्यक्रम नगर प्रमुख र जेष्ठ नागरिकबीचको दोहोरो संवादका लागि आयोजना भएको थियो ।

यसअघि वडा नम्बर १, २ र ३ का जेष्ठ नागरिकले वडा नम्बर २ को मंगलबारेमा हाक्काहाक्की सुझाव र गुनासो गरे । अब माघ २४ गते पनि साविक सतासीधामका जेष्ठ नागरिकसंग मेयर कार्यक्रम संचालन हुने छ ।

कार्यक्रममा नगर प्रमुखले जेष्ठ नागरिकसँग संवाद गर्दै उनीहरूको समस्याका बारेमा जानकारी लिए । जेष्ठ नागरिक भेटघाट चौतारीको सभाहलमा २ सय बढी जेष्ठ नागरिकका कुरा सुन्दै नगर प्रमुख थोप्राले तत्काल समाधान गर्ने प्रतिबद्धतासमेत जनाए ।

जेष्ठ नागरिकले नगर प्रमुखसंग समस्या र सुझावहरू राखे । सबैभन्दा धेरै गुनासो बैक तथा वित्तीय संस्थामा लाईनमा बस्नुपर्ने, सार्वजनिक यातायातका साधनमा भाडा छुट नदिने, औषधी उपचारका लागि स्वास्थ्य संस्थामा जाँदा अरु नागरिकसरह लाइनमा उभिनु पर्ने जस्ता गुनासा जेष्ठ नागरिकले राखेका थिए । बीमा योजनामा जेष्ठ नागरिकलाई अपमानित गर्ने गरिएको, चिकित्सकले सिफारिस गरिएका औषधी नगरका स्वास्थ्य संस्थाले नदिएको जस्ता महत्वपूर्ण गुनासा राखेका थिए ।

जेष्ठ नागरिकको भेटघाट चौतारीको भवनमा शौचालय भएको, पानी नभएको, भवनको घेराबारा, फल्स सिलिङ नभएको गुनासो जेष्ठ नागरिकले गरे । उनीहरुले हरेक वडामा जेष्ठ नागरिकका लागि भवनको आवश्यकता रहेको पनि औल्याए । नगरका हरेक कार्यालयमा जेष्ठ नागरिकहरूलाई प्राथमिकता नदिएको पनि उनीहरुले गुनासो गरे ।

जेष्ठ नागरिकका गुनासो र सुझाव संकलन गरेपछि नगर प्रमुख थोप्राले सबै समस्याहरू जेष्ठ नागरिकहरूको अधिकार र सम्मानसँग जोडिएका विषय बस्तु भएको बताए । उनले भने, ‘सुधारको लागि आजैबाट पहल हुने छ ।’

जेष्ठ नागरिकका कुरा सुनिरहँदा नगर प्रमुख थोप्राले आफ्नै बुवा आमाले छोरासंग जीवनको उत्तरार्द्धमा गरेका हक, अधिकार र आवश्यकताका बारेमा कुरा राखेको आफूलाई अनुभूति भएको बताए । उनले मलिन स्वरमा भने ‘मेरो बुवा आमा भनेकै तपाईहरु हो । जसरी मलाई मत दिएर नगर प्रमुख जस्तो ठाउँमा पुर्याउनु भयो । त्यसको गुण तिर्ने योजना बनाएको छु ।’ आउने दशैमा सामाजिक सुरक्षा भत्तासंगै शिवसताक्षी नगरको तर्फबाट ७० वर्ष पुगेका तपाई बुवा आमाले केही न केही उपहार पाउनु नगर प्रमुख थोप्राले बताए । तर, उपहारका बारेमा नगर प्रमुखले केही खुलाएनन् ।

जेष्ठ नागरिक र बालबालिकासंग निकै घुलमिल गर्न चाहने नगर प्रमुखले कोही बुवा आमाका व्यक्तिगत समस्या छन् भने सुटुक्क कानमा आएर भन्न पनि अनुरोध गरेका थिए । तर, कसैले पनि यस्तो घरायसी गुनासो गरेनन् । ‘यसको अर्थ सबै जेष्ठ नागरिक खुसी हुनुहँुदो रहेछ भन्ने मैले बुझे,’नगर प्रमुख थोप्राले भने ।

नगर प्रमुख थोप्राका बुवा तोयाहाङ ०६४ सालमै परमधाम भएका थिए । आमा चण्डीमाया ०३९ सालमै बेपत्ता भएकी थिईन् । उनी अझैसम्म बेपत्ता नै छन् । नगर प्रमुख थोप्राले भने, ‘मैले मेरो आमाको माया धेरै पाउन सकिनँ । बुवाले पनि बेलैमा छोडेर जानुभयो । अब, मेरो अभिभावक अर्थात बुवा आमा भनेकै तपाईहरुको हो ।’

जेष्ठ नागरिक भेटघाट चौतारीको सभाहलमा अटाई नअटाई भेला भएका जेष्ठ नागरिक वडा नम्बर ४,५,६ र ७ नम्बर वडाबाट आएका हुन् । वडाबाट जेष्ठ नागरिक कार्यक्रममा आइरहँदा ६ नम्बर वडाका अध्यक्ष मनोज खुलालबाहेक अन्य वडाका अध्यक्ष कार्यक्रममा नआउँदा जेष्ठ नागरिकले खल्लो महसुस गरे ।

कार्यक्रममा विलम्ब गरि पुगेका वडा अध्यक्ष खुलालले माइक पाउनेवित्तिकै नगर प्रमुखको खुलेर तारिफ गरे । झन्डै ५ मिनेट मन्तव्यमा समय खर्चेका वडा अध्यक्ष खुलालले आधा समय नगर प्रमुखकै प्रशंसा गरे । त्यसपछि कार्यक्रमको लोकप्रियताका बारेमा बोलेका खुलालले बाँकी समय जेष्ठ नागरिक नगरको गहना र देवता भएको बताए ।

वडा अध्यक्षपछि माइक्रोफोन हातमा पुग्नेवित्तिकै मेयर थोप्राले वडा अध्यक्ष खुलालको पनि उत्तिनै तारिफ गरे । नगर प्रमुखले वडा अध्यक्षको तारिफ गर्दा जेष्ठ नागरिकले ताली बजाएर उनको अभिव्यक्तिको समर्थन जनाए । वडाको सिलिङ बजेटबाट १० लाख खर्चेर जेष्ठ नागरिक भेटघाट चौतारी वडा अध्यक्ष खुलालले बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्