झापा, माघ २३ । गत वर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले यस वर्ष सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् ।

आफ्ना दिवंगत पितृहरुको स्मरणमा करिव २ करोडको लागतमा अर्जुनधारा १ सिस्नेस्थित सिंहदेवी माविलाई उनले खानेपानी ट्यांकीसहित विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् । प्राध्यापक डाक्टर सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको विद्यालयको ६६ औ वार्षिकोत्सवका अवसरमा बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई , अध्यक्ष इन्दिरा गिरी , दुर्गा प्रसाईका छोरा डा. निरज प्रसाई, बुहारी अन्जली प्रसाईलगायतले विद्यालयलाई सो भवन हस्तान्तरण गरेका हुन् ।

सिंहदेवी माविले प्रसाईसंग खानेपानीको ट्यांकी निर्माण गरिदिन आग्रह गरेको थियो तर, उनले त्यहाँ करोडौंको विद्यालय भवन नै बनाइदिएका हुन् ।
गत वर्ष बिर्तामोड २ स्थित मोहनमाया माविले पनि प्रसाईसंग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिएका थिए ।