CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा,माघ २३ । स्वदेशी उत्पादनमा उत्तारचढाव नआए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लसुनको आयात अस्वाभाविक देखिएको छ । भन्सार विभागको ५ वर्षयताको आयात तथ्यांकअनुसार वार्षिक औसतमा १ अर्ब १५ करोड रुपैयाँको लसुन आयात हुँदै आएको छ । तर साउनदेखि मंसिरसम्ममा ६ अर्ब १८ करोडको आयात भएपछि प्रश्न उब्जिएको हो । जानकारका अनुसार स्वदेशी उत्पादनले माग नधान्ने भएकाले लसुन आयात नै गर्नुपर्छ । तर अहिलेको आयात अस्वाभाविक देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । ‘घरायसीबाहेक चाउचाउ उद्योगमा पनि लसुन खपत हुन्छ । मौज्दात गर्ने उद्देश्य पनि हुन सक्छ । तर अर्बौं रुपैयाँको मौज्दात कति समयसम्म गर्ने भन्ने पनि हुन्छ,’ उनले भने, ‘उद्योगको व्यापार अत्यधिक बढेको भए लसुनको आयातलाई स्वाभाविक मान्न सकिन्थ्यो । तर अहिले त्यस्तो पनि देखिँदैन । सामान्यतः ६ गुणाभन्दा बढी खपत हुँदैन, त्यसैले आयात शंकास्पद छ ।’
चीनबाट आयात भएको लसुन भारतर्फ गएको हुन सक्ने उनले अनुमान गरे । ‘चीनको सामान नेपाल हुँदै भारतीय बजार पुगेको भारतीय अधिकारीहरूले गुनासो गर्दै आएका छन् । लसुनको उत्पादन, खपत र आयात हेर्दा शंकास्पद नै छ,’ रेग्मीले भने । मुलुकको वार्षिक लसुन उत्पादन करिब ७३ हजार टन हो ।मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ९ हजार ७ सय ८४ हेक्टरमा लसुन खेती भएकोमा ७२ हजार ४ सय ९० टन उत्पादन भएको थियो । ०७८-७९ मा ९ हजार ९ सय ४३ हेक्टरमा खेती भएको थियो भने ७४ हजार ७ सय ६३ टन उत्पादन भएको थियो । ०७९-८० मा ९ हजार ५ सय ७० हेक्टरमा खेती भएको थियो । उत्पादन भने ७३ हजार ५ सय ६७ टन भएको थियो । ‘स्वदेशी उत्पादन स्थानीय तहमै खपत हुन्छ, होटल, रेस्टुरेन्ट, उद्योगका लागि चीनबाटै आयात गर्नुपर्छ,’ कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘तर अस्वाभाविक आयातले तथ्यांकमै प्रश्न उठेको छ ।’ कृषि वस्तु आयातमा भन्सारमा सुविधा पाइन्छ । सुविधा पाउनकै लागि लसुन देखाएर अन्य वस्तु आयात भएको हुन सक्ने उनको दाबी छ । ‘विगतमा पनि धान, चामल देखाएर अन्य वस्तु आयात भएको थियो । अहिले पनि भन्सार छल्न लसुन देखाएर अन्य वस्तु आयात गरेर तथ्यांक बढाएको पनि हुन सक्छ,’ अधिकारीले भने, ‘तस्करी गर्नकै लागि पनि आयात बढेको हुन सक्छ । नियमनकारी निकायले त्यता हेर्न जरुरी छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्