झापा,माघ २३ । आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ । नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेकालाई नागरिकता प्रदान गरिने व्यवस्था विधेयकमा छ । ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली महिलाले बाध्यतात्मक परिवेशमा विदेशी नागरिकसँगको सम्पर्कबाट बच्चा जन्माउन पुगेका छन् । त्यस्ता बच्चाले बाबुको परिचय नखुलेकै कारण नेपालमा नागरिकता पाउन सकिरहेका छैनन् । गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख भरतमणि रिजालले बेपत्ता बनेका विदेशी बाबु तर नेपाली आमाका सन्तानले नागरिकता नपाइरहेको समस्यालाई सम्बोधन गर्न कानुनमा संशोधनको प्रस्ताव ल्याइएको बताए ।
कनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यो पनि पाउने व्यवस्था विधेयकमा गरिएको छ । ऐनको दफा ८ मा (१क) थपेर ‘कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिए त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्नेछ’ भनेर विधेयकमा व्यवस्था गरिएको छ ।
बाबुको पहिचान खुले पनि लामो समयदेखि सम्पर्कविहीन रहेको वा बाबुको जिम्मेवारी पूरा नगरेको व्यक्तिको नाम सन्तानले नागरिकतामा लेखाउन नचाहे त्यो अधिकार दिन कानुन संशोधन गर्न लागिएको हो । यस सम्बन्धमा सर्वोच्च अदालतबाट पनि आदेश आएकाले नागरिकता ऐनमा संशोधनको प्रस्ताव गरिएको गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख रिजालले बताए । सर्वोच्चले विभिन्न मुद्दामा बाबु सम्पर्कविहीन भएको वा निजका बारेमा जानकारी नभएको अवस्थामा आमाको नामबाट वंशजको नागरिकता प्रमाणपत्र प्रदान गर्न आदेश गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्