झापा, माघ २५ । सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद भएको छ ।

हिजो साँझ ६.२० बजे इटहरी– १७ कान्छी चोकमा चतराबाट इटहरीतर्फ मोड्दै गरेको बा २ च ३४६५ नं को टाटा सफारी गाडीलाई ट्राफिक समेतको संयुक्त प्रहरी टोलीले रोक्न खोज्दा गाडी नरोकी जबर्जस्ती पेलेर अगाडि बढाएको थियो । त्यसपछि डिउटीमा रहेका प्रहरीले पिछा गर्दा सो गाडीलाई भाटभटेनीभन्दा केहि अगाडि उत्तर साईडमा छाडेर चालक फरार भएका थिए । गाडीमा प्लाष्टिकले बेरिएको ८ पोका अर्थात २३० के.जी. १५० ग्राम गाँजा फेला परेको छ ।
त्यस्तै हिजो बिहान ६ः४५ बजे देबानगञ्ज गाउँपालिका ७ मध्यबर्षाही हुँदै नेपालबाट भारततर्फ जाँदै गरेको एचआर७० इ ९५०२ नम्बरको स्कोरपियो गाडी र प्रदेश २–०३–००९ प ०९७ नम्बरको मोटरसाइकलसहित गाडीमा सवार देबानगञ्ज १ बस्ने ५६ वर्षीय सहदेब मेहता पक्राउ परेका छन् । उक्त गाडी प्रहरीले चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाएको अबस्थामा १४ बोरा गाँजा फेला परेको थियो ।
त्यस्तै हिजो साँझ ५ः४० बजे देवानगञ्जकै वडा नं –४ यादव टोलमा सशस्त्र प्रहरीको गस्ती टोलीले एक बोरा गाँजा बरामद गरेको छ । बोरामा प्याक गरी मोटरसाइकलमा लोड गरिरहेको अवस्थामा प्रहरी पुगेपछि मोटरसाइकल छोडेर चालक भारततर्फ फरार भएका थिए । उक्त बोरा खोली हेर्दा करिब ३८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यता झापा कन्काईका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । गएराति ८ः३० बजे कन्काई नगरपालिका वडा नं. ४ त्रिवेणी टोलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । टोलीले सोही ठाउँ बस्ने बर्ष ३१ का डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो २.३० बजे बिराटनगर– १६ हुलास चोकमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उर्लाबारी ७ बस्ने २० वर्षीय अमन मिया लागूऔषधसहित पक्राउ परेका छन् । उनको साथबाट ४.१८ ग्राम ब्राउनसुगर फेला परेको छ ।