झापा,माघ २५ । ताप्लेजुङमा पुस मसान्तसम्ममा पाँच जनालाई गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालू आव २०८१–८२ को पुस मसान्तसम्ममा पाँच जनालाई गैर आवासीय नागरिकता वितरण गरिएको छ । सहायक प्रजिअ खड्काले छ महिनाको अवधिमा गैर आवासीय नागरिकता लिएका पाँचमध्ये पुस महिनामा दुई जनाले लिएको जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०–८१ मा एकवर्षे अवधिमा ताप्लेजुङबाट छ जनालाई गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको थियो । यस्तै चालू आवको पुस मसान्तसम्ममा ताप्लेजुङमा दुई जनाले अङ्गीकृत नागरिकता लिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी, चालू आवको पुस मसान्त सम्ममा एक हजार ६७१ जनाले राहदानी बनाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये एकहजार ४६१ जनाले जिल्लाबाट बुझ्नेगरी र ८९ जनाले द्रुत सेवामार्फत राहदानी बनाउने गरी सिफारिस लिएका प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले राहदानी बनाउन चाहाने सेवाग्राहीका लागि राहदानीको अनलाइन फाराम निःशुल्क भरी दिने व्यवस्था मिलाएको छ ।