झापा, माघ २५ ।झापाका चारवटा कार्यालयका सशस्त्र प्रहरीले आफ्नै भवन पाएका छन् । चार वटा कार्यालय भवनको शुक्रबार एक समारोहका बीच उदघाटन भएको हो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा आयोजना गरिएको समारोहमा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति तथा डीआइजी शम्भु सुवेदीले एकसाथ चारवटा कार्यालय तथा ब्यारेकको उद्घाटन गरेका हुन्।

पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित हिन्दु धर्म सनातन सेवा समितिको स्वामित्वमा रहेको विश्वनाथ शिवालय मन्दिरको धर्मशालाको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आइरहेको थियो । २०६१ कार्तिक १ गते सीमा सुरक्षा पोस्टको रुपमा स्थापित भई २०६९ कार्तिक ११ गतेदेखि राजश्व भन्सार तथा औद्योगिक सुरक्षा गुल्मको रुपमा स्तरोन्नति भई २०७७ असार २९ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा (राजश्व तथा भन्सार गस्ती सुरक्षा) हुँदै २०७९ फागुन १८ गतेदेखि प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा रहेको छ।

गुल्म सञ्चालनका लागि मेचीनगर–७ गैरीगाउँमा ९ कट्ठा २ धुर जग्गा खरिद गरी १ करोड ३९ लाख ९ हजार ४२६ रुपैयाँमा एमआर कन्स्ट्रक्सन महोत्तरीसँग ठेक्का सम्झौतामा गरी नयाँ भवन निर्माण गरिएको छ। त्यस्तै भद्रपुर बोर्डर आउट पोस्ट २०७७ माघ १८ गतेदेखि भद्रपुर नगरपालिका–४ शान्तिटोल स्थित भद्रपुर सेवा समाजद्वारा निर्मित चारकोठे मलामी विश्रामालयको भवनमा स्थापना भएको थियो।

२०७९ चैत १९ गतेदेखि प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा स्तरोन्नति भएपछि भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरिद गरी १ करोड ३१ लाख ३७ हजार ३३३ रुपैयाँमा ठाकुर कन्स्ट्रक्सन इनरुवा सुनसरीसँग सम्झौता गरी नयाँ भवन निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी कवीन्द्र राईले जानकारी दिए।

स्थानीयको मागबमोजिम बोर्डर आउट पोस्ट ज्यामिरगढी २०७७ असोज २९ गतेका दिन मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित बंशल चिया बगानको स्वामित्वमा रहेको जग्गा तथा भवनमा कार्यालय स्थापना गरिएको थियो। मेचीनगर–१५ स्थित लिम्बु डाँडामा एक बिगाह ऐलानी जग्गा प्राप्त भएपश्चात् १ करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँमा माङ्गमालुङ्गमा कन्स्ट्रक्सन काठमाडौँसँग सम्झौता गरी नयाँ भवन निर्माण गरिएको हो।

त्यसैगरी बोर्डर आउट पोस्ट महेशपुर भद्रपुर नगरपालिका ३ मेचीपारीस्थित स्थानीय मायाराम महतो र कमलेश्वर महतोले ५ कट्ठा जमिन निःशुल्क उपलब्ध गराई २०७७ फागुन ९ गतेदेखि कार्यालय सञ्चालन हुँदै आइरहेकोमा सोही ठाउँमा ८१ लाख २८ हजार ५५१२ रुपैयाँमा आरएआर कन्स्ट्रक्सन काठमाडौँसँगको ठेक्का सम्झौता भई नयाँ भवन निर्माण गरिएको एसपी राईको भनाइ छ।

कार्यक्रममा बिओपी महेशपुरलाई निःशुल्क जग्गा दिने मायाराम महतो र कमलेश्वर महतोलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग पुर्याउने भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, सम्बन्धित वडा कार्यालयहरू, निर्माण कम्पनी र सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्