झापा, माघ २५ । सुरक्षाकर्मीहरुको अवरोधका बीच झापा गाउँपालिकाको पन्थापाडामा आयोजित इज्तेमामा हजारौ मुस्लिमले सहभागिता जनाएका छन् ।

सुरक्षाकर्मीहरुले भारतबाट आउन नदिएपनि त्यस कार्यक्रममा करिव ७ हजारको संख्यामा नेपाल र भारतका मुस्लिमहरुको सहभागिता रहेको थियो । झापा गाउँपालिका –५ पन्थापाडास्थित बिरिङ खोलाको बगरमा अहले हदिस झापाको आयोजनामा दुई दिने बिराट धार्मिक इज्तेमा आयोजना गरिएको थियो । दोस्रो दिन धर्म गुरु मोहमद हमिद फैजी र मौलाना आमानुल्लाह मदनीले प्रवचन दिएका थिए ।

त्यस्तै बिर्तामोड–७ मियाबारीमा दुईदिने धार्मिक प्रवचन तथा जलसा कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ।

“ताजदारे मदिना कन्फ्रेन्स” अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख गुरु सैय्यद बाबू हजुर खानकाए समरकन्दिया, सैय्यद कयामुद्दिन अशरफ र सैय्यद अहमद अबरार अहमदको उपस्थिति रहेको छ। कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् । उद्घाटन समारोहमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला, नेकपा (एमाले) नगर अध्यक्ष सुवास भट्टराई, बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, वडा अध्यक्ष मदन बुढाथोकी, समाजसेवी सजेश सिवाकोटी, मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतको उपस्थिति थियो।

कार्यक्रममा समाजसेवी अफ्रोज खानले स्वागत मन्तव्य राखेका थिए । शनिबार हुने जलसामा पैगम्बर मोहम्मदका वंशज सैय्यद बाबू हजुर, सैय्यद कयामुद्दिन अशरफ र सैय्यद अहमद अबरार अहमदज्यूको उपस्थितिमा धार्मिक प्रवचन हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्