झापा, माघ २६ । बिर्तामोड– ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले बोन म्यारो भएका एक चार वर्षीय बालकलाई सहयोग गरी आफ्नो १६ औं स्थापना दिवस तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको ९ औं स्मृति दिवस मनाएको छ ।

बोन म्यारो भएका बिर्तामोड– ५ का मुकेश ठाकुरका ४ वर्षीय छोरा उज्वल ठाकुरलाई गौरवशाली साकोसले १० हजार १०० नगद सहयोग गरेको हो । भारतको चेन्नईमा उपचार गराउनका लागि ती बालकलाई ३० लाखभन्दा बढी खर्च लाग्ने भएको छ । आर्थिकरुपमा विपन्न ठाकुर परिवारले आफ्ना छोराको उपचारका लागि सहयोग संकलन गरिरहेकाले आफ्नो संस्थाका तर्फबाट पनि सहयोग गरिएको गौरवशालीका अध्यक्ष लवकुमार चौधरीले बताए ।
एक कार्यक्रमका बीच सो सहयोग प्रदान गरिएको थियो । अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार पुष्पलाल चौधरी , सल्लाहकार इन्द्रसिंह राजवंशी , लेखा समिति संयोजक महावीर चौधरी , कार्यसमिति सदस्य पशुपति राजवंशीलगायतले संस्थाले बोन म्यारो पीडित बालकलाई सहयोग गरेकोमा प्रशंसा गरेका थिए । सदस्य दमन्ता दाहालले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव रुपा राजवंशीले गरेकी थिइन् ।
गौरवशाली साकोसले स्थापना दिवस तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको स्मृति दिवसमा हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।