झिलझिले, माघ २६ । शिवसताक्षीको दुधे आयुर्वेद औषधालयले वडा नम्बर ८ मा वडा स्तरीय नागरिक आरोग्य समूहलाई स्वस्थ जीवनशैली, योग एवम स्थानीय जडिबुटीको प्रयोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय नागरिकलाई आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ, सकारात्मक सोच र व्यक्तित्व विकासका लागि कार्यक्रम संचालन गरिएको कविराज राजेन्द्र पोख्रेलले बताए । उनले सर्ने र नसर्ने रोगहरुको प्रकोपलाई न्यूनीकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पु¥याउने उद्धेश्यले नागरिक आरोग्य कार्यक्रम नगरका सबै वडामा सञ्चालन भएको बताए ।

कार्यक्रममा स्थानीय स्तरमा पाइने जडिबुटीहरुको पहिचान, उपयोगिता, मात्रा प्रयोग, स्वस्थ जीवनशैली, सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार योग र ध्यानसम्बन्धी छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

प्रत्येक घरका भान्साबाट मानिसको जीवनशैली परिवर्तन गराउन सकिने उनले बताए । कति बेला खाने, कति खाने, कसरी खाने, केमा खाने, कति आराम गर्ने, कति काम गर्नेलगायतका विषयमा वडाका नागरिकलाई जानकारी गराइएको कविराज पोख्रेलले बताए ।

हरेक नागरिकले खानपान र जीवनशैली परिवर्तन गर्न नसक्दा कम उमेरमै विभिन्न प्रकृतिका रोगहरुले गाँज्न थालेको छ । नयाँ रोगबाट बच्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि योग, खानपान र जीवन शैली परिवर्तन सबैभन्दा उत्तम उपाय भएको उनले बताए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समूहका प्रतिनिधिहरु, जननिर्वाचित प्रतिनिधिहरु, समाजसेवी, वुद्धिजीवी, सञ्चारकर्मीलगायत २५ जनाको सहभागिता रहेको थियो ।
झिलझिलेस्थित किरात राई यायोख्खाको सभाहलमा आयोजित कार्यक्रमको सहजीकरण दुधे आयुर्वेद औषधालयका कविराज पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्