झापा, माघ २७ । सेवाग्राहीको भीडभाड हुने अत्यन्तै व्यस्त यातायात व्यवस्था कार्यालय बिर्तामोड साँघुरो भएकै कारण अस्तव्यस्त छ ।

यहाँ दैनिक सयौँ सेवाग्राहीको भीडभाड हुन्छ । तर, त्यो भीडलाई थेग्नसक्ने संरचना यातायात कार्यालयसँग छैन । दुई कठ्ठा क्षेत्रफलमा रहेको आफ्नै भवन साँघुरो छ ।

भवनमा रहेका कोठाहरु पनि साँघुरा हुँदा कर्मचारीलाई काम गर्नसमेत असहज छ । केही वर्षअघि भाडाको कार्यालयबाट आफ्नै संरचनामा यातायात कार्यालय सरेको हो । तर, दुई कठ्ठा क्षेत्रफलको साँघुरो भवनमा सर्नु पर्दा यातायात कार्यालयले भाडा तिर्नुपर्ने बाध्यता अझै हटेको छैन । आफ्नै कार्यालय हुँदा पनि यातायातले अहिले मासिक ९६ हजार बढी भाडाका संरचनामा काम गरिरहेको छ । यातायात कार्यालय बिर्तामोडका प्रमुख प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार आफ्नै कार्यालय भवन भएपनि ठाउँ अपुग हुँदा मासिक ९६ हजार ६३५ रुपैयाँ भाडा तिरेर अरु संरचना भाडामा लिनुपरेको छ । यातायात कार्यालयको भवन साघुँरो हुँदा जताततै भिडभाड हुने गरेको छ । दुई कठ्ठामा रहेको भवन साँघुरो भएको र यतिको कार्यालय सञ्चालनका निम्ति कम्तिमा पनि आठ कठ्ठाभन्दा धेरै जग्गा चाहिने स्थानीय बताउँछन् ।

कार्यालय साँघुरो हुँदा पार्किङमा समेत समस्या रहेको छ । जथाभावी पार्किङ गर्दा यातायात कार्यालय अस्तव्यस्त देखिन्छ । सडकमा जथाभावी पार्किङ गरिँदा सडकमा यात्रा गर्नेलाई समेत अप्ठ्यारो भएको छ । यातायात बनेको स्थान सानो हुँदा संरचना भाडामा लिएर चलाउनुपर्ने बाध्यता रहेको प्रमुख सापकोटाले बताए । उनका अनुसार यातायातले नजिकै रहेको खाली जग्गा मासिक ३० हजारमा पार्किङका लागि लिएको छ । त्यो पनि अपर्याप्त हुँदा यातायात कार्यालय छेउछाउ जताततै पार्किङ गर्ने गरेको यातायात कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय बिर्तामोडको आफ्नै भवन छ । तर, पार्किङ र कार्यालयको अन्य शाखा चलाउनका संरचना भाडामा लिएको छ । आफ्नै कार्यालय भवन भए पनि ठाउँ अपुग हुँदा मासिक ९६ हजार ६३५ रुपैयाँ भाडा तिर्नुपर्ने अवस्था रहेको प्रमुख सापकोटाले बताए । यातायातले पार्किङस्थलको मासिक ३० हजार तिर्दै आएको छ । यस्तै, कार्यालय परिसर साँघुरो हुँदा सवारी साधन अनुमपति पत्रको लिखित परीक्षा हुने हल, गोदाम, बायोम्याट्रिक हल, अस्थायी रुटपर्मिट शाखा र प्राविधिक शाखा भाडाको संरचनामा चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । जसका लागि यातायातले मासिक ६६ हजार ६३५ रुपैयाँ भाडा तिर्दै आएको उनले बताए ।

‘संरचना साँघुरो भएरै भाडामा लिनुपरेको हो । यो भवनमा नअटेका शाखाहरु भाडाका संरचनामा राखेका छौँ,’ उनले भने,‘तर, यो संरचना कामै नलाग्ने चाहिँ हैन । साँघुरो भएर मात्र भाडामा लिएको हो । फराकिलो भएको भए हामीलाई कार्यालय सञ्चालनमा सहज हुने थियो ।’ यातायात कार्यालयको सवारी साधन अनुमति पत्रका लागि परीक्षा लिने फिल्डसमेत आफ्नो छैन । एउटा निजी कम्पनीसँग सम्झौता गरेर दश वर्षका लागि यातायात कार्यालयले निःशुल्क फिल्ड दिएको छ ।


यातायात कार्यालय साँघुरो भएपछि सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । प्रदेश सरकार मातहतको यो कार्यालयमा सेवाग्राहीको सहजताका लागि कोशी प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अनुगमन गरेको छ । उक्त समितिले पनि यातायात कार्यालय साँघुरो भएको निष्कर्ष निकालेको छ । समिति सभापति कमला दर्नालले यातायात कार्यालयमा आफ्नो पार्किङसमेत नभएको र भाडाको पार्किङस्थल पनि अस्तव्यस्त रहेको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्