झापा, माघ २७ । नो केबलकार समूह र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले भने पौने घण्टा बसेको बैठक बिनानिष्कर्ष सकिएको बताए । ‘हामीले ६ बुँदे सहमति किन कार्यान्वयन भएन भन्यौँ । उहाँले मैले भनेकै हो तर मानेनन् भन्नुभयो । त्यसो भए तपाईँहरूसँग किन वार्ता गर्ने भन्यौं । त्यसपछि टुंगियो,’ उनले भने ।

वार्ता टोली सदस्य सरु सिंघकले आफूहरू पनि सरकारी पक्षको खबरको प्रतीक्षामा रहेको बताइन् । आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गरेका छन् । वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । आन्दोलनरत पक्षले माइतीघर मण्डलामा वार्ता बिनानिष्कर्ष टुंगिएको जनाएका छन् ।

यसैबीच आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ । भोलि साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिएका छन्।

सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन्। ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्तामार्फत नै समस्याको समाधान गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्