झापा, माघ २८ । खोटाङमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्नै आमा र छिमेकीमाथि आगो लगाइदिएका छन् ।

गएराति ९.५५ बजे खोटाङ केपिलासगढी– ७ सुङदेल कात्तिके बस्ने ३८ वर्षीय निरकुमार राईले घरायसी विवाद हुँदा आफ्नै आमा ७८ की गौमाया राई र छिमेकी ५५ वर्षीय देशमाया राईलाई आफ्नै घरमा रहेको पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । गौमाया राईको कम्मरमुनिको भाग , दुई वटा हात, अनुहार जलेको छ भने देशमाया राईको कम्मरमुनिको भाग र दुई वटा हात जलेको छ ।
दुवैलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ । आगो लगाउने निरकुमार राई तत्काल फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।
यता धनकुटाको चौबीसेमा विहे घरमा खुकुरी प्रहार भएको छ । धनकुटा चौबीसे –८ आमडाँडा बस्ने दलबहादुर मगरको घरमा वैवाहिक कार्यक्रम चलिरहेको थियो । उक्त घरमा निम्तो मान्न आएका सोही ठाउँ बस्ने २१ वर्षीय छवि मगरलाई २१ वर्षीय बिपिन थापाले गएराति ८.३० बजे खुकुरी प्रहार गरेका हुन् ।
अत्यधिक मादक पदार्थ सेवन गरी विवाद भई थापाले खुकुरी प्रहार गर्दा मगरको दाहिने हातको माझी औंलाको पछाडी र बायाँ हातको बुढी औलाको कापमा काटिएको छ । घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको र खुकुरीसहित खुकुरी प्रहार गर्ने थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय राजारानीमा राखिएको प्रहरीले जनाएको छ ।