बिर्तामोड,माघ २८ । शैक्षिक हबका धरोहर हरिकुमार प्रसाईको निधन भएको दुई वर्ष पूरा भएको छ । २०७९ मंसिर १८ गते निधन भएका प्रसाईको भौतिक शरीर हामीमाझ नरहेपनि उनले दिएको शैक्षिक योगदानलाई कसैले पनि बिर्सन सकेका छैनन् । प्रसाईले गरेका सुकर्महरुले उनलाई सम्झना गराइरहेको छ ।

त्यही सम्झनास्वरुप बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रसाई संस्थापक रहेको एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले आजदेखि सो प्रतियोगिता शुरु गरेको हो । प्रतियोगितालाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी छन् । उद्घाटन खेलमा आयोजक विद्यालय ७–१ को फराकिलो अन्तरले विजयी भएको छ । आयोजक एभरेष्टले बेल्स मोडल स्कुललाई पराजित गरेको हो । सो खेलमा विजेता टीमका सैरुज देवकोटा म्यान अफ द म्याच घोषित भए ।

भोलि दुईवटा खेल हुने छन् । न्यूटन्स एजुकेशन एकाडेमी र देवकुल इङ्गिलस स्कुल चारपाने तथा ग्रीनफिल्ड वल्र्ड स्कुल र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलबीच प्रतिष्पर्धा हुने भएको छ । आगामी फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएको आयोजक एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।
प्रिन्सिपल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाई र जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले शुभकामना मन्तव्य राखेका थिए । न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, महासचिव बुद्ध तामाङ, विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष देवी गिरी, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसानका कार्यवाहक अध्यक्ष उत्तम खनाललगायतको आतिथ्य रहेको थियो । विद्यालयका सेकेन्डरी इन्चार्ज तेजेन्द्र कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।

कार्यक्रमका सहभागी वक्ताहरुले बिर्तामोडलाई शैक्षिक हबको रुपमा विकास गर्न प्रसाईले ठूलो योगदान दिएको स्मरण गरेका छन् । जब बिर्तामोडमा एउटा मात्र सामुदायिक विद्यालय महेन्द्र रत्न मावि थियो , त्यसबेला शिक्षालयको जग बसाल्ने र शिक्षाको ज्योति छर्ने काम प्रसाईलगायतले गरेका हुन् । सगरमाथा मावि , त्यसपछि दिपज्योति स्कूल र त्यसपछि न्यूटन्स् एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी खोलेर प्रसाईले नै शैक्षिक हबको शुरुवात गरेका थिए । अहिले बिर्तामोडमा एकसे एक विद्यालयहरु संचालनमा छन् ।
