
झापा, माघ २९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधीहरू मङ्गोलिया र उज्बेकिस्तानमा पु¥याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ “पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधीहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ । डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ ।“धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधीमा पहुँच थिएन”, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने ।
प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।