बिर्तामोड , माघ ३० । एमिटी एजुकेशन फाउन्डेसनले २६औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

त्यस अवसरमा कडा प्रतिस्पर्धाका बीच एमिटी आइडल घोषणा गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम र बृहत् विज्ञान प्रदर्शनीसमेत सञ्चालन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक राधेश्याम शर्मा ढकालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत प्याब्सन झापाका पदाधिकारी , विभिन्न विद्यालयका प्रतिनिधिहरु, समाजसेवी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधामा एमिटी आइडल घोषणा गरिएको थियो । नृत्यमा जुनियरतर्फ कक्षा ३ की प्रिया रिजाल प्रथम, कक्षा ५ की सृष्टि अधिकारी द्वितीय, कक्षा ४ की सुप्रकी थापा तृतीय , सिनियर नृत्यतर्फ कक्षा ६ की नितिसा बराइली प्रथम , कक्षा ८ की देविका शाह द्वितीय, कक्षा ९ की खुसी लिम्बू तृतीय भएका छन् । त्यस्तै वाद्यवादनमा कक्षा ४ अच्युतम भट्टराई प्रथम , कक्षा ६ का कोसलेस रिजाल द्वितीय, कक्षा ७ का श्रीशान्त रिजाल तृतीय भएका छन् । अभिनयतर्फ कक्षा ५ का मार्शल प्रसाई प्रथम, कक्षा ३ की खुसी धमला द्वितीय, कक्षा ३ की समृद्धि प्रधान तृतीय भएका छन् भने गायनतर्फ कक्षा ५का प्रसन्न दाहाल प्रथम , कक्षा ८ की जेनिसा गुरागाई द्वितीय र रेविना मैनाली तृतीय भएका छन् ।

कार्यक्रमको विशेष आकर्षणमा अत्याधुनिक प्रविधि प्रयोग गरी विज्ञान प्रदर्शनी गरिनुका साथै कम्प्युटर प्रविधि , चित्रकला , अभिनय , गायन , वाद्यवादन तथा नृत्य साथै खानपान आदिको कुशलतापूर्वक प्रदर्शन गरिएको थियो । कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी कक्षा १२ की गृष्मा चुडाल र कक्षा ९ की आरुसी रायालाई विद्यालयद्वारा स्थापित संस्थापक प्रिन्सिपल स्व. सिताराम ढकाल तथा संस्थापक अध्यक्ष कुमार खडका स्मृति पुरस्कार क्रमशः प्रदान गरिएको थियो । त्यसैगरी अलराउन्डर अवार्ड कक्षा १० की जाइफा सेख , कक्षा १० कै अर्विट राई र उत्कृष्ट पोशाकतर्फ कक्षा ४ का हेमराज रसाइली र कक्षा ७ की अनुष्का खनाललाई प्रदान गरिएको थियो ।

–प्रकाशचन्द दाहाल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्