शिवसताक्षी, फागुन १ । शिवसताक्षी नगरपालिका वडा नम्बर १ फुलबारीका ८१ वर्षीय टंकप्रसाद गड्तौलाको घरमा आगलागी भएको केही घण्टापछि नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षी राहत सामग्री लिएर पुगेको छ ।

बिहीबार विहान ११ बजेतिर अचानक लागेको आगोले उनको टिनको छाना भएको पक्की घरमा ठूलो क्षति पुगेको थियो । आगलागीबाट घर र घरभित्रका सामान सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आगलागीबाट कम्तिमा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी शिवसताक्षी नगरपालिकाको वारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

आगलागी हुँदै गर्दा रेडक्रस उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्ले घटनास्थल पुगेका थिए । घटनाको क्षतिको विवरण संकलन गरेर फर्केका काफ्ले स्थानीय जनप्रतिनिधि र राजनीतिककर्मी लिएर पुनः राहत वितरणका लागि गएका थिए ।
रेडक्रसको टोलीले आगलागी प्रभावितलाई आवश्यक सामग्री जस्तै त्रिपाल, ओढ्ने ओछ्याउने, भाडावर्तन ,खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक वस्तुहरू उपलब्ध गराएको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङ, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गाना, नेपाली कांग्रेसका प्रदेश सभापति विनोद ढकाल, शिवसताक्षी नगर सभापति अशोक बस्नेत, नेकपा एमालेका नेता राजिव घिमिरिलगायतको सहभागिता थियो ।

उक्त घटनामा रेडक्रसको सहयोगले पीडितलाई तत्काल राहत मिलेको स्थानीयले बताए । स्थानीय सबैले सहयोग अग्नीपीडितलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्