झापा, फागुन १ । नेकपा माओवादी केन्द्रले झापाको बिर्तामोड र दमकमा दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाएका छन् ।

पार्टीको तीनवटा नगर कमिटीले बिर्तामोडमा संयुक्तरुपमा जनयुद्ध दिवस मनाएका हुन् । नेकपा माओवादी केन्द्र बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगर कमिटीले बिर्तामोडको मुक्तिचोकमा आज साँझ दीप प्रज्वलन गरी ३०औं जनयुद्ध दिवस मनाएका हुन् । माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङको सभापतित्वमा भएको कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले जनयुद्ध ऐतिहासिक भएको बताएका थिए ।

कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अर्जुन पाण्डे, रिटर्नी सेन्टरका संस्थापक महासचिव भीम लकान्द्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, लक्ष्मी न्यौपाने (सरु) लगायतले सम्बोधन गरेका थिए। कार्यक्रम बिर्तामोड नगर कमिटीका सचिव गणेश कालिकोटेले सञ्चालन गरेका थिए ।


उता दमक –६ स्थित गणतन्त्र चोकमा नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले पनि दीप प्रज्वलन गरेको छ । नगर कमिटी अध्यक्ष रबि बस्नेतको अध्यक्षतामा पार्टीका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल (शितल कुमार) को प्रमुख आतिथ्यतामा झापा जिल्ला इन्चार्ज रन्जित तामाङलगायत करिब ४० जनाको उपस्थितिमा ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्