झापा, फागुन २ । दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ ।
कर्मचारी सरुवा प्रणालीलाई छिटो, छरितो व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले अबदेखि मन्त्रालयले १५ दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरुवा गर्न थालेको हो । गएको माघ महिनादेखि यो प्रणाली सुरु गरिएपछि मन्त्रालयमा सरुवाका लागि मन्त्री र सचिवको कार्यकक्ष, कर्मचारी प्रशासन महाशाखा र शाखामा भिडभाडसमेत कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।
दैनिक हुने कर्मचारी सरुवा प्रणालीले प्रशासनिक अनियमितता, असन्तुष्टि र आलोचना बढ्दै जान थालेपछि मन्त्रालयले १५ दिनको अन्तराल अर्थात् महिनाको दुई पटक मात्र कर्मचारी सरुवा गर्न थालेको हो । मन्त्रालयका सचिव रविलाल पन्थले दिनदिनै कर्मचारी सरुवामा अल्झिँदा सङ्घीयतासम्बन्धी काम सुस्त बन्दै गएकाले यस्तो प्रणाली थालेको जानकारी दिए ।
गत माघ महिनामा पनि अत्यावश्यक भएका कर्मचारीको दुई पटक मात्र सरुवा गरेको छ । दुई पटक गरी ३६ जना कर्मचारीको मात्र सरुवा गरेको मन्त्रालयले जनाएको छ । “१५ दिनको अन्तरालमा कर्मचारी सरुवा गर्दा कर्मचारीले सरुवा आवश्यकताले मागेको हो वा अनावश्यक माग गरेको हो भन्ने बारेमा औचित्य पुष्टि गर्न समय पर्याप्त हुन्छ,” सचिव पन्थले भने ।
उनका अनुसार अहिले कर्मचारीको नियमित सरुवा गर्ने समय नभएकाले मन्त्रालयले आवश्यकबाहेक अन्य कर्मचारीको सरुवा गरेको छैन । कर्मचारीको आकस्मिक व्यवस्थापन गर्न, व्यक्तिगत र पारिवारिक समस्याले सम्बन्धित कार्यालयमा जान अप्ठ्यारो परेको कर्मचारीको मात्र सरुवा हुने गरेको छ ।
अत्यावश्यकबाहेक सरुवा प्रक्रियाको निर्णय महिनाको १ देखि ३ गते र १५ देखि १८ गतेभित्रमा हुन्छ । यो व्यवस्थाले कर्मचारी सरुवा प्रणालीमा देखिएको अन्योल र असन्तुष्टिलाई न्यूनीकरण गर्न केही हदसम्म भए पनि सहयोग पुगेको छ । सरुवाका लागि कर्मचारीले मन्त्रालयमा दैनिक निवेदन दिन सकिन्छ तर सरुवाका लागि मन्त्रालयमा आएका निवेदनलाई सङ्कलन गर्ने र महिनाको दुई पटक मात्र सरुवाको नीतिगत निर्णय गरी कार्यान्वयन गर्न थालिएको मन्त्रालयले जनाएको छ ।
कतिपय कर्मचारीहरू लामो समयदेखि एउटै स्थानमा कार्यरत रहनु र अन्य कर्मचारीहरूले पटक पटक प्रयास गर्दा पनि सरुवा नपाउनुलाई ध्यानमा राख्दै नयाँ प्रणाली लागु गरिएको सचिव पन्थले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्