झिलझिले, फागुन २ ।झापाको शिवगञ्जमा शुक्रबारदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ ।

पतञ्जली योग समिति शिवसताक्षीले योग शिविर सञ्चालन गरेको हो । शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जको जेष्ठ नागरिक भवनमा आयोजना भइरहेको शिविरको वडा अध्यक्ष मनोज खुलालले उद्घाटन गरे । वडा अध्यक्ष खुलालले योगमार्फत वडाबासी नागरिकको स्वास्थ्य चुस्त राख्न वडाले शिविरलाई सहयोग गर्दै योग कक्षालाई निरन्तरता दिने बताए ।

उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्न सक्ने बताए । शिविरमा नगर कार्यपालिका सदस्य गोमा रिजाल पनि सहभागी थिइन् । उनले शिविरमा महिलाको उत्साहपूर्ण सहभागिता देखेर आफू खुसीले गदगद भएको बताइन् ।

कार्यक्रममा पतञ्जली योग शिविर झापा अध्यक्ष देवी घिमिरेले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । गलत खानपान र रहन सहनले मानिसको शरीरलाई दिनहुँ शिथिल बनाउँदै गइरहेको बताउँदै उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन योग उत्तम उपाय भएको बताए ।

कार्यक्रम पतञ्जली योग समिति शिवसताक्षीका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा भएको थियो । पतञ्जली योग समिति झापाका महामन्त्री कृष्णप्रसाद ओझा, कमलकी महिला महामन्त्री इन्दिरा गौतम, शिवसताक्षीका सल्लाहकार समिति प्रमुख पर्शुराम ढुंगाना, कार्यक्रम संयोजक गोकुल पौडेललगायतले योगको महत्वका बारेमा सहभागीलाई दर्शाएका थिए ।

शिवसताक्षीको ८ नम्बर वडाका दुई ठाउँमा दुई महिना अघिदेखि नै योग शिविर संचालनमा छ । डुडामारीमा संचालित शिविरमा ५५ जना, झिलझिले माविको सभाहलमा संचालित शिविरमा ५६ जना सहभागी छन् । शिवगञ्जको जेष्ठ नागरिक भवनमा ५९ जना सहभागी रहेको पतञ्जली योग समिति शिवसताक्षीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्