
झापा,फागुन ३ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फुलमाला लगाई दिदै गरेको दृश्य निकै नै रोचक थियो ।
आर्थिक वर्ष २०८०÷०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रुपमा यसरी सम्मान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुशी देखिएको थियो । गाउँपालिकाले यो वर्ष ५० मुरीदेखि एक सय मुरीसम्म धान फलाएका ३९ जना किसानलाई जनहि ३० हजार र एक सय मुरी धान फलाएकालाई जनहि ५० हजारका दरले पुरस्कार प्रदान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानमध्ये प्राप्त पुरस्कारबाट केहिले दुहुनो गाई केहिले भैंसी त केहिले हल गोरु किन्ने बताए । गाउँपालिकाले आगामी वर्ष अन्य समूहका बालीमा पुरस्कार दिने योजना अघि बढाउने अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।