झापा,फागन ३ । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय किसानलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डीसीआरएल) सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।
वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख उदिमप्रसाद राईले जानकारी दिए ।
‘खार्मीमा व्यावसायिक मौरीपालनका लागि ८० आधुनिक घार वितरण गर्ने कार्यक्रम छ, पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ’, उनले भने, ‘बाँकी ६ वटा केही दिनभित्रै उपलब्ध गराउछौँ, मौरीका घार प्राप्त गर्ने किसानलाई व्यावसायिक मौरीपालनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।’
व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय किसान उत्साहित भएका छन् । मौरीको खाली घार प्रतिगोटा रु पाँच हजार दुई सयका दरले खरिद गरेर खार्मीका स्थानीय उपभोक्तालाई दुई÷दुई घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन रक्षक विनोद गजमेरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्