बिर्तामोड, फागुन ३ । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधिनजिक पुगेको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २–० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ ।
अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेका हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।
खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पुरस्कारस्वरुप नगद ५ हजार प्रदान गरे ।
अर्जुनधारा र कनकाई नगरपालिकाबीच फागुन ५ फाइनल खेल हुनेछ । विजेता टोलीले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।