बरतलाल राजवंशी,
कुमरखोद । झापा गाउँपालिकाको कुमरखोद लसुना छोटी भन्सार कार्यालय वषौंदेखि बन्द छ । भन्सार कार्यालय संचालन नहुँदा अवैध कारोबार फस्टाएको छ । पछिल्लो समय भारतबाट लागूऔषध भित्र्याउने मुख्य नाकाको रुपमा लसुना नाकालाई चिनिएको छ ।


झापा गाउँपालिका वडा नं १ मा रहेको कुमरखोद लसुना भन्सार नाका विस्थापित भएको धेरै समय हुँदा त्यहाँ रहेका भवनहरु जीर्ण भइसकेका छन् । भन्सार कार्यालय पुनर्स्थापना नहुँदा खुल्ला सीमाका कारण अवैधरुपमा कारोबार बढेको हो । जसका कारण दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भइरहको छ । खुल्ला सीमाका कारण नाकाबाट खुलेआम तस्करी हुँदै आएको छ । कुमरखोद लसुना नाकाबाट चिनी , नेपालमा बेच्न प्रतिवन्धित मरेका सिलोन , सिल्भर कार्प, रहुँ , मुंग्री माछा र कपडा अवैध रुपमा दैनिक भित्रिन्छ । खुल्ला सीमाका कारण चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई चुनौती बनेको छ ।

माओवादीको सशस्त्र द्वन्द्व चर्केको बेला २०५५ सालतिर लसुना छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । विस्थापित भएको २६ वर्षमा पनि छोटी भन्सार कार्यालय पुनर्स्थापित हुन नसकेको हो । कोरोनाकाल सकिएपछि केही कर्मचारीहरु भन्सार कार्यालयमा आएर बसेका थिए । तर उनीहरु केही दिन बसेर फर्केर गए । भारतीय सरकारले भन्सार नराखेपछि र सीमामा रहेका एसएसवीले सामान ल्याउन कडाई गरेपछि राजश्व नउठेर भन्सारका कर्मचारी फर्केर गएका हुन् ।

झापा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव यहाँ भन्सार राखेर पनि राजश्व नउठ्ने बताउँछन् । ‘जबसम्म भारत सरकारले दिघलवैंक बोर्डरमा कस्टम राख्दैन तबसम्म नेपालको बोर्डरमा भन्सार राखेको कुनै अर्थ नै रहँदैन’ उनी भन्छन् ,‘ किनकी भारतबाट एसएसवीले मुख्य बोर्डर नाकाबाट घरायसी सामान ५–७ केजी भन्दा बढी ल्याउन दिदैन ।’ सुरुङ्गा लसुना बोर्डरमा कम्तिमा दुई लाईनको राजमार्ग नबनेसम्म भारतीय पक्षले कस्टम नराख्ने वडा अध्यक्ष यादवको दावी छ ।

नेकपा एमाले गाउँ कमिटी उपाध्यक्ष माधव पोख्रेलको भनाई पनि उस्तै छ लसुनाको छोटी भन्सार कार्यालय संचालन र भारतले दिघलबैकमा कस्टम राख्यो भने बोर्डरनजिकै रहेका नेपाली बजारहरुमा चहलपहल बढ्ने उनी बताउँछन् । अहिले यो नाकाबाट दुई पाङ्ग्रे सवारी साधनमात्रै कुद्छ । नाका खुल्यो भने चार पाङ्ग्रे सवारी साधन दुवैतर्पm आवत जावत भएपछि मानिसहरुको चहलपहल बढ्ने र नेपालको व्यापार फस्टाउने पोख्रेलको भनाई छ ।

झापा गाउँपालिकाको कुमरखोद लसुना नाकाबाट कुनै पनि चार पाङ्ग्रे सवारी साधनलाई भारतले प्रवेश गर्न दिएको छैन । नेपालबाट घरायसी उपभोग्य सामान खरिद गर्नका लागि अधिकांश मानिसहरु भारतको सीमावर्ती बजारमा धाउने गरेका छन् । नेपाली बजारमा भन्दा धेरै नै सस्तोमा सामान खरिद गर्न सकिने झापा गाउँपालिका वडा नं २ की चन्द्रकला राजवंशी बताउँछिन्।

झापामा जम्मा ११ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् । मेची भन्सार कार्यालय काँकडभिट्टाअन्तर्गत ६ वटा र भद्रपुर भन्सार कार्यालयअन्तर्गत ५ वटा छोटी भन्सार रहेका छन् । मेची भन्सारअन्तर्गत गाडागल्ली , बाहुनडाँगी ,नकलबन्दा , सतीघट्टा , महाभारा र गौरीगञ्ज रहेका छन् भने भद्रपुर भन्सारअन्तर्गत पाठामारी, केचना, घेरावारी, पन्थापाडा र कुमरखोद छोटी भन्सार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्