झापा, फागुन ४ । खोटाङको हलेसी बजारमा अहिले आगलागी भइरहेको छ ।

आजभन्दा सात वर्षअघि सोही ठाउँमा भीषण आगलागी भएको थियो।हलेसी बजारको स्थानीय एक ग्यास पसलबाट फैलिएको आगोले हलेसी बजारका केही घर ध्वस्त भइसकेको स्थानीयले बताएका छन्। आज साँझबाट सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय प्रशासनका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र सयौं संख्याका स्थानीयले फैलिएको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। यद्यपि आगोको लप्का मानिसको काबु बाहिर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास भएपनि आगो अझै फैलिरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन्। प्रमुख जिल्ला अधिकारी कार्कीले भने, “ हलेसी बजारमा दमकलहरू उपलब्ध छैनन्, त्यसैले आगलागी नियन्त्रण गर्न समस्या भएको हो।”

पानी ट्यांकर र थापेको पानीको सहयोगले आगो नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए । अहिले ट्यांकर र जेसीबीको सहायतामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीय युवाहरू मिलेर आगो निभाउने प्रयास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार आगो लागेको घटनामा अहिलेसम्म मानवीय क्षति भएको छैन।

यसअघि २०७४ पुष १९ गते पनि हलेसी बजारमा आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएको थियो। आजभन्दा सात वर्षअघिको आगलागीको उक्त घटनामा पाँच करोड ११ लाख १५ हजार मूल्य बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्