लक्ष्मी उप्रेती,
मेचीनगर । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका आफ्ना श्रीमान पछिल्लो एक वर्षदेखि कुनै सम्पर्कमा नआएका कारण झापा मेचीनगर —१४ की फूलमाया तामाङ ‐नाम परिवर्तन)ले श्रीमानको नाममा रहेको तीन कठ्ठा जग्गा रोक्का गरिन् ।

अंश नपाएको भन्दैं मेचीनगरकै रविन्द्र कार्की ‐नाम परिवर्तन) ले बाबु धनबहादुर कार्कीको नाममा रहेको एक विगाह नौ कठ्ठा जग्गा रोक्काका लागि मालपोत कार्यालय झापामा निवेदन दिए । यता बीरबहादुर बस्नेतले श्रीमती कृष्णमाया बस्नेतको नाममा रहेको पाँच कठ्ठा जग्गा रोक्का गरेका छन् ।
मेचीनगरभित्र विवादपछि जग्गा रोक्का गर्ने यी केही प्रतिनिधि घटनामात्र हुन्। मेचीनगर नगरपालिकामा जग्गा विवादका समस्या अत्यधिकरुपमा हुने गरेका छन् । नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीका आधारमा यससम्बन्धी विवादको संख्या कुल उजुरीको झण्डै पचास प्रतिशत रहेको छ ।
अधिकाँश घटना परिवारभित्रै हुने गरेका छन् । उजुरी परेका आधारमा जग्गा रोक्का हुँदा जग्गाधनीलाई कारोबार गर्न समस्या हुने गरेको छ । श्रीमान र श्रीमतीबीच उब्जिएको शंका उपशंका, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दबाबले गर्दा एक अर्काको नाममा रहेको जग्गा रोक्का गराउने गरेको थुप्रै उदाहरण छन् । ‘वैदेशिक रोजगारीका लागि कुवेत जानु भएको नौ वर्षभयो’ फूलमायाले भनिन्—‘ अहिले टेलिफोन सम्पर्क पनि हुदैंन, भईहाले रिसाउनुमात्र हुन्छ, एकाएक उहाँको बानी व्यवहारमा परिवर्तन आएको देखेर शंका लागेर मैले जग्गा रोक्का गरेकी हुँ । ’
न्यायिक समिति संयोजक एवम् उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार अघिल्ला आर्थिक वर्षबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिम्मेवार सरी आएका ५५ र चालु आर्थिक वर्षको पुष मसान्तसम्म दर्ता भएका ३४ गरी कुल ८९ वटा मुद्धा छन् । कुल मुद्धामध्ये ३७ वटा जग्गासम्बन्धी विवाद रहेको संयोजक उप्रेतीले जानकारी दिइन् । मदिरा सेवनपछिको विवाद, रिसिवी, आर्थिक लेनदेन र पारिवारिक बेमेलका कारण यस्ता विवादको संख्या बढ्ने गरेको उपप्रमुख उप्रेतीले बताइन् । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले पनि यस्ता घटना हुने गरेका छन् ।