झापा, फागुन ६ । ओखलढुंगा र इलाममा लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

हिजो बिहान ८.३० बजे ओखलढुंगा चम्पादेवी –३ पिपलडाँडा बस्ने अन्दाजी ४५ वर्षीय बेदबहादुर तामाङ जंगलबाट काठको बलो बोकी घरतर्फ आउने क्रममा बाटोबाट तल झरेका थिए । लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय रामकुमारी तामाङले देखेर प्रहरीलाई खबर गरेपछि आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ ।
यता गएराति ९ बजे इलाम नगरपालिका ११ सोयाक बस्ने ५० वर्षीय टेकबहादुर श्रेष्ठ आफ्नै घरमा पार्किङ गरी राखेको आफ्नै मोटरसाइकल निकाल्ने क्रममा अचानक मोटरसाइकलसहित लडेका छन् ।. लडेर घाइते भएका श्रेष्ठलाई जिल्ला अस्पताल सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । बोल्न नसक्ने श्रेष्ठको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।