
झापा, फागुन ६ । पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण गर्न थालिएको छ । पाइप लाइनबाट ल्याई बाराको अमलेखगन्जमा भण्डारण गरिएको पेट्रोल वितरण गरिएको हो । नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका अनुसार तीन दिनदेखि पाइप लाइनमार्फत आएको पेट्रोल विराटनगर, पोखरा र जनकपुरको ट्याङ्करलाई लोड दिन सुरु गरिएको छ ।
कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण सुरु गरिएको जानकारी दिए । मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ । पाइप लाइनबाट ल्याएको पाँच हजार पाँच सय किलोलिटर पेट्रोल वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । बजारको आवश्यकताका आधारमा पेट्रोल आयात भइरहेको आचार्यले जानकारी दिए । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेलसमेत ल्याउन थालिएको कार्यालयले जनाएको छ ।
पाइप लाइनबाट प्रतिदिन छ हजार किलोलिटर पेट्रोल ल्याउन सक्ने क्षमता रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाइप लाइनबाट प्रतिघण्टा तीन सय किलोलिटरका दरले इन्धन ल्याउन सक्ने क्षमता भए पनि हाल परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरका दरले भइरहेको छ । पेट्रोल आउन थालेपछि दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइप लाइन नेपाल–भारतको सीमामा मोतीहारी–अमलेखगञ्ज पाइप लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
नेपालमा वार्षिक सात लाख किलोलिटर पेट्रोल खपत हुन्छ । यसमध्ये पाइप लाइनबाट ७० प्रतिशतका दरले चार लाख ९० हजार किलोलिटर आयात गर्ने लक्ष्य निगमले राखेको छ । पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने आचार्यले जानकारी दिए ।
हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।