भद्रपुर, फागुन ७ । आजदेखि भद्रपुरको मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता शुरु हुँदैछ ।

मोफसलको चर्चित गोल्डकपको रुपमा परिचित गोल्डकपको आजको उद्घाटन खेलमा आयोजक भद्रपुर व्लेजर्स र दार्जिलिङको पुलिस टिम भिड्दैछन् । खेल मेची रंगशालामा दिउँसो २.३० बजेदेखि शुरु हुने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेका छन् ।भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईप्रति समर्पण गरिएको फुटवल प्रतियोगिताको फाइनल खेल फागुन १६ गते हुने भएको छ । यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन् ।
गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने गोल्डकपका अध्यक्ष ढकालले जानकारी दिएका छन् ।