झापा, फागुन ७ । याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष पदम चेन्जी (मावो लिम्बू) लाई कालोमोसो दल्ने राष्ट्रिय जनमुक्ति पार्टीकी नेतृ सिर्जना बेघा पक्राउ परेकी छन् ।

ताप्लेजुङको पाथीभरामा केबुलकार बन्नु पर्छ भन्ने सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै फागुन ४ गते धरान– २ भानुचौकस्थित सब्जी मण्डी लाइनमा रहेको एच के मेलोडी क्लब रेस्टुरेन्ट एण्ड बारमा लिम्बूलाई एक समूहले कालोमोसो दलेको थियो ।
आज बिहान ६ः३० बजेतिर धरान १३ स्थित अमरहाट अस्थायी प्रहरी बिटले ताप्लेजुङ जाँदै गरेको बोलेरो गाडी रोकेर चेकजाँच गर्दा बेघालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
सामाजिक सञ्जालमा अपवाह फैलाएर धरानको शान्ति सद्भाव भड्काएको, अवैध चन्दा असुली कार्यमा संलग्न रहेको आरोपमा बेघालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकास जबेगुले बताए। वर्षदिन अगाडिदेखि सिर्जनाले धरानको शान्ति सद्भाव भड्काउन कानुनविपरीतका क्रियाकलाप गरेको प्रहरीले जनाएको छ। यस अगाडि सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको आरोपमा पनि सिर्जना पक्राउ परेकी थिइन्।
उनलाई बुधबार जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लैजाने तयारी छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।