झापा, फागुन ७ । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाथीभरामा केबलकार बनाउँदा वार्ता र संवादबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

उनले स्थानीयले उठाएका मुद्दा र मागहरुलाई सम्बोधन गरेर अगाडि बढे राम्रो हुने सुझावसमेत दिएका छन् । आज बिहान ताप्लेजुङ –४, न्युरोडस्थित नेकपा (माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा प्रेस सेन्टरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अहिलेको सरकार आफू स्वयंलाई रक्षा गर्न र नयाँ भ्रष्टाचारको बाटो खोज्न गठन भएको आरोप लगाए । उनले प्रधानमन्त्री केपी ओलीले अध्यादेशबाट सरकार चलाउन खोजिरहेको दावीसमेत गरे । आफूहरुको ध्यान सरकार ढाल्नेभन्दा पनि पार्टीलाई शक्तिशाली बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई थियो ।