झापा, फागुन ९ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर हिजो काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यवसायीले गरेको यातायात बन्द फिर्ता भएको छ ।

आज यातायात व्यवसायी र आन्दोलनरत पक्षबिच छलफल भई आन्दोलनरत पक्षले गाडीको मर्मत र घाइते चालकको उपचार गर्ने सहमति गरेसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिका कर्मचारी सरन लाबुङले जानकारी दिए ।
हिजो प्रहरी र आन्दोलनरत पक्षबिच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे. १ ज. २५७९ को गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । सोही क्रममा गाडीचालक राजकुमार पौडेलमाथि कुटपिट भएको थियो ।
उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । त्यस घटनाको विरोधमा मेची राजमार्ग, तमोर करिडोर र धरान–बसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा व्यवसायीहरुले यातायात बन्दको आव्हान गरेका थिए ।
