झापा, फागुन ११ । टिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएपछि दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तहरुले मेची राजमार्ग अवरुद्ध पारेका छन् ।

आज दिउँसो १२.४५ बजेदेखि इलामको रोङ गाउँपालिका –३ हर्कटेस्थित मेची राजमार्गमा उनीहरुले चक्काजाम गरेका हुन् । दुई दिनअघि रोङ –३ हाँसपोखरीस्थित मेची राजमार्गमा को १ ख ६४६२ न. को टिपरले प्रदेश १–०३–००१ प १५८५ न. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल .चालक सूर्योदय– ६ खादीगाउँ बस्ने ४० वर्षीय दिर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राईको मृत्यु भएको थियो । उक्त स्थानमा प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।