झापा,फाल्गुन ११ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा भइरहेको केबलकार विवाद समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ । कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
केबलकार निर्माणको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको माओवादीले जनाएको छ । विज्ञप्तिमा सरकारले वार्ता र संवादबाट राजनीतिक समाधान खोज्नुको साटो बल प्रयोग गरी आन्दोलनकारीलाई दबाउने प्रयास गरेको भन्दै यसको घोर विरोध गरिएको छ।
माओवादीका अनुसार आन्दोलनकारीले राजनीतिक नेतृत्वसँग वार्ताको प्रस्ताव राखे पनि सरकारले बेवास्ता गरेको छ। बरु प्रशासनिक दमन र प्रतिकार आन्दोलन थालेको आरोप लगाइएको छ ।
पार्टीले स्थानीय प्रशासनले तनाव कम गर्न सहजीकरणको भूमिका खेल्नुको साटो उल्टै उत्तेजना बढाएको दाबी गरेको छ । माओवादीले सरकारलाई तत्काल मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न, केबलकार निर्माणको काम स्थगित गरी संवाद थाल्न र आन्दोलनकारी पक्षलाई पनि आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्