बिर्तामोड, फागुन ११ । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३ औँ जन्मदिनका अवसरमा झापामा विभिन्न कार्यक्रम गरिएको छ ।

आज विहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन गरिएको हो । स्थानीयको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका २ धनुषकोटी धाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन गरिएको हो । सोही स्थानमा अखण्ड दीपसहित ७३ दीप प्रज्ज्वलन गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य एवम् दीर्घ जीवनको कामना गर्दै अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्ज्वलन गरिएको हो । किरातेश्वर महादेव मन्दिर , धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं. २ लगायतको अगुवाईमा पूजा गरिएको हो ।
पूजामा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं. २ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौडेलसहित स्थानीय नागरिकको सहभागिता रहेको थियो । धाममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए ।
अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा ७३ वटा बहुमूल्य जातका बिरुवाहरू रोपिएको छ । वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामकरण गरेका छन् । कार्यक्रममा सहभागीहरुले रुद्राक्षको विरुवा रोप्दै वृक्षरोपण कार्यक्रम शुभारम्भ गरेका थिए ।

त्यस्तै नेकपा एमाले क्षेत्र नम्बर ४ झापाको क्षेत्रीय कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको ७३ औँ जन्मदिन विविध कार्यक्रम गरि मनाएको छ ।
पार्टी अध्यक्ष ओलीको जन्मदिनको अवसर अवसर पारेर क्षेत्रीय कमिटीको दोस्रो पूर्ण बैठक, जरा केन्द्रित अभिमुखीकरण र बृक्षरोपण गरेको हो । दोश्रो पूर्ण बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको पार्टीका संयोजक धनबहादुर थेबेले जानकारी दिए ।
उनका अनुसार बैठकले आसन्न २०८४ को आम निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्ने, स्थानीय सरकारका प्रतिनिधिहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धताको समीक्षा गर्ने, क्षेत्रीय अक्षय कोष स्थापना गर्ने, क्षेत्रमा आधुनिक प्रकृतिको सामूहिक खेती सञ्चालन गर्ने तथा २०१३ सालको खमार आन्दोलनका किसान नेतालाई सम्मान गर्ने निर्णय गरिएको हो ।
जन्मदिनको अवसरमा क्षेत्रीय कमिटीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कन्काई नगरपालिकाको कन्काई माध्यमिक विद्यालय र धनुषकोटी धाममा रक्तचन्दन, श्रीखण्ड लगायतका करिव १५० बिरुवा रोपिएको नेकपा एमाले झापा ४ ले जनाएको छ ।
बैठकमा पार्टीबाट निर्वाचित पालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, पार्टीका पालिका पदाधिकारी, क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने सवै पदाधिकारी तथा सदस्यको सहभागिता थियो । संयोजक थेबेले बैठकमा ९५ जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताए । बैठक कन्काई नगरपालिकाको सुरुङामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओली र क्षेत्रीय इन्चार्ज गोविन्द थापाको पनि उपस्थिति रहेको थियो । क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि संगठन सुदृढीकरण र रणनीति तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।