झापा, फागुन १२ । साथी संगी महिला उपभोक्ता समूहको आयोजना तथा अर्जुनधारा नगरपालिका ८ नं वडा कार्यालयको प्राविधिक सहयोगमा सात दिवसीय ब्याग सिलाई तथा बुनाई प्रशिक्षण सम्पन्न भएको छ।

समापन कार्यक्रमका प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अर्जुनधारा ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले सम्पूर्ण महिला दिदी बहिनीहरुले अब कुनै न कुनै सीप सिक्न जरुरी रहेको बताए । महिलाहरु चट्टान हुन् जसले विभिन्न प्रकारका चोट सहेर पनि सुन्दर मूर्ति बन्न सक्नुपर्ने भन्दै त्यसकारण अबको युगमा महिलाहरुमा कुनै न कुनै सीप हुन जरुरी रहेको उनले बताए ।

धार्मिक,सांस्कृतिक र सामाजिक झल्को दिने खालका ब्याग, स्कुल ब्याग अनि नगरभरि रहेका विद्यालयहरुको पोशाक पनि साथी संगी महिला उपभोक्ता समूहमार्फत उपलब्ध गराउन सके घरमै बसेर पनि प्रशस्त आम्दानी गर्न सकिने भन्दै सोको लागि आफूले ब्यक्तिगत तथा वडाबाट गराउन सक्ने सक्दो सहयोग गर्ने वचनबद्धता ब्यक्त गरे ।

कार्यक्रममा साथी संगी महिला उपभोक्ता समूहकी अध्यक्ष पुष्पा उप्रेती संग्रौलाले यस्तो खालको कार्यक्रम गरिरहने इच्छा भएपनि आवश्यक सामग्रीको अभावमा गर्न कठिन रहेको र ती आवश्यक सामग्री वडाले उपलब्ध गराइदिए अबका दिनमा अझ राम्रा कार्यक्रम ल्याउन सकिने धारणा राखिन् । विशेष अतिथिमा ब्यवसायी रमेश नेपाल रहेको कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट स्वागत मन्तब्य गंगादेवी कट्वाल र कार्यक्रममा सिकेको सिपको बारेमा प्रशिक्षार्थी लिला नेपाल चापागाईँले आ–आफ्नो धारणा राखेका थिए ।कार्यक्रमको संचालन समूहकी भद्रिमाया बिष्टले गरेकी थिइन् । तालिममा १५ जना प्रशिक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्