झिलझिले, फागुन १३ । शिवसताक्षीको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को उपाधि सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले जितेको छ ।

उक्त विद्यालयले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै नगरमै पहिलो स्थान ओगट्न सफल भएको हो ।
यस्तै लालपानी माध्यमिक विद्यालय पाँच स्वर्ण, नौ रजत र पाँच कास्य पदक जित्दै दोस्रो भयो । बाल निकुञ्ज माध्यमिक विद्यालयले पाँच स्वर्ण, दुई रजत, र सात कास्य पदक जितेर तेस्रो स्थान हासिल गर्यो ।

पशुपति अंग्रेजी माध्यमिक विद्यालय पाँच स्वर्ण र दुई रजत पदकसहित चौथो स्थानमा रह्यो भने भगवती माध्यमिक विद्यालय चार स्वर्ण, पाँच रजत र चार कास्य पदकसहित पाँचौं भयो ।

छैटौं स्थानमा जन आदर्श माध्यमिक विद्यालयले चार स्वर्ण, पाँच रजत र एक कास्य पदक प्राप्त गर्यो । सातौं स्थान झिलझिले माध्यमिक विद्यालयले तीन स्वर्ण, ६ रजत र दुई कास्य पदक सुरक्षित गर्यो ।

त्यस्तै, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले तीन स्वर्ण, पाँच रजत र ६ कास्य पदक जित्यो भने ध्रुवतारा आवासीय माध्यमिक विद्यालयले दुई स्वर्ण, दुई रजत, र चार कास्य पदक प्राप्त गर्यो । मोती माध्यमिक विद्यालयले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गर्दै दशौं स्थान हासिल गर्यो ।

नगरमा २४ सामुदायिक, ३५ संस्थागत र २ धार्मिक विद्यालय गरेर ६१ विद्यालय छन् । १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगतामा आधारभूत र माध्यमिक विद्यालयका विद्यार्थीलाई सहभागी गराउने प्रावधान छ ।

प्रतियोगितामा भलिवल, एथलेटिक्स, कवड्डी, कराँते, छेलोलगायतका खेल विधा समावेश गरिएका थिए ।
फागुन १० गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी भएका थिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले विजयी विद्यालय तथा प्रतियोगीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।


यसैवीच शिवसताक्षी नगरको ८ नम्बर वडाको सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले नगरमा संचालित १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विजेता विद्यार्थीलाई भव्य सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक दीपक कडरिया र संचालक समितिका सदस्य ज्योति राईले पदक विजेता विद्यार्थीलाई नगदसहित, फूलमाला अविर र खादाले सम्मान गरेका थिए । विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै विद्यालयका प्रधानाध्यापक कडरियाले भने,‘ तपाईँहरुको यो मेहनत, लगानी र खेलप्रतिको आकर्षणले विद्यालयको गरिमा अझ उच्च भएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्