बिर्तामोड , फागुन १४ । महाशिवरात्री पर्वको अवसर पारेर झापाको बिर्तामोड ८ मा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा माताको शक्तिपीठमा भगवान शिव र नागदेवताको मूर्ति अनावरण गरिएको छ ।

तीन दिनसम्म प्राण प्रतिष्ठाका लागि पूजापाठ गरी आज अनावरण गरिएको हो । बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले संयुक्तरुपमा ती दुवै मूर्तिको अनावरण गरेका हुन् । बिर्तामोड ४ का इबराज निरौलाले ९० हजार रुपैयाँको लागतमा शिवको मूर्ति प्रदान गरेका हुन् भने सो मूर्ति स्थापना गर्नका लागि बिर्तामोड ८ का सुमन प्रसाईले १ लाख रुपैयाँ खर्च गरी जग निर्माण गरिदिएका छन् ।

त्यस्तै सबै भक्तजनहरुको सहयोगमा ३० हजार रुपैयाँको लागतमा नागदेवताको मूर्ति निर्माण गरिएको मन्दिरका गुरु सन्तोष प्रसाईले बताए । त्यस्तै भद्रपुरका निश्चल लामाले २० केजीको घण्टी प्रदान गरेका छन् भने काठमाण्डौका बुद्धिप्रसाद भण्डारी र रीता दाहालले नन्दी भगवानको मूर्ति सहयोग गरेका छन् ।

२०७९ चैतमा स्थापना भएको पाथीभरा माताको शक्तिपीठको महिमाका कारण भक्तालुहरुको भीड लाग्ने गरेको छ । भगवती माताको इच्छा अनुसार त्यहाँ मन्दिर निर्माण गरी पूजा आराधना गर्दै आएको गुरु सन्तोष प्रसाईले बताए । प्रसाईले आफ्नै जग्गामा मन्दिर निर्माण गरेका हुन् । करिव ३५ लाखको लागतमा पाथीभरा माताको मन्दिर निर्माण भएको त्यस ठाउँमा गणेश , हनुमान , राधाकृष्ण , सूर्यनारायण , पंचकन्या , नागराज , शिवशंकरलगायतका देवीदेवताको मूर्ति रहेको छ । केही वर्षमा त्यहाँ बूढानिलकण्ठको मूर्ति राख्ने योजना रहेको प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्