
झापा,फागुन १५ । खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहिबार संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले उद्घाटन गरेका हुन् ।
सम्मेलन दिक्तेलस्थित कभर्डहलमा औपचारिक उद्घाटन गरिएको छ । नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रम स्थल र बाँसकै स्टलहरु निर्माण गरिएको छ।
सम्मेलनमा बाँस जन्य सामाग्री, स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज र खाद्यन्य परिकार प्रदर्शनका लागि ५१ वटा स्टल राख्ने तयारि आयोजकले गरेको छ । सम्मेलनको पहिलो दिन सबै स्टलहरु भरिएका छैनन् । यस्तै, मनोरञ्जनका लागि लिङ्गे पिङ, रोटे पिङ लगायतको व्यवस्था पनि गरिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
मन्त्री शाही ठकुरीको प्रमुख आतिथ्यतामा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा संघीय सांसदहरु, प्रदेशका मन्त्री र साँसदहरु, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाका प्रमुखहरु, जिल्लासँगै जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको छ । जिल्ला बाहिरबाट मात्र ३ सय बढी अतिथिहरुको बाँस सम्मेलनमा उपस्थिति रहने बताइएको छ । बाँस सम्मेलनमा बिज्ञहरुबाट २३ वटा कार्यपत्र प्रस्तुतसमेत हुनेछ ।
मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ । आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, बन तथा बातबरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियशन ललितपुर रहेका छन् । बाँसको प्रवर्द्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।