झापा,फागुन २० । निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्याेदय नगरपालिका–५ को सिमाना भएर बग्ने सिद्धिखोलामा निर्माणाधीन १० मेघावाट क्षमताको विद्युत् योजनाको पाइप लाइन विस्तारका क्रममा रोङ–६ का आधा दर्जन घर जोखिममा परेका हुन् ।

आयोजनाका कारण स्थानीय विक्रम राई, गणेश राई, मैतसिङ राईको घर पहिरोको जोखिममा परेका छन् । आयोजना निर्माणका कारण यी घरभन्दा तलका घर पहिरोको जोखिममा परेको भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द पौडेलले जानकारी दिए । स्थानीय विक्रम राईले आयोजनाका कारण घर जोखिममा पर्दा आफूहरूको बिचल्ली भएको बताए । उनले घरमाथिबाट पहिरो खसिरहेका कारण जतिबेला पनि घर बगाउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । अन्य पीडितले आफ्ना घर जोखिममा परेको भन्दै रोङ गाउँपालिकामा मौखिक उजुरी गरेपछि गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो, उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. ६ का वडाध्यक्ष सत्यम राई, स्थानीय सरोकारवालासहितले गत पुस २५ गते छलफल गरी निर्माणाधीन आयोजनाको स्थलगत अनुगमनसमेत गरिएको थियो । अनुगमनपछि समस्या समाधानका लागि पटक पटक हाइड्रो कम्पनीसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
सिद्धि हाइड्रो कम्पनीका सरोज पौडेलले केही घर समस्यामा परेको भए पनि तत्काल उक्त स्थानमा सुरक्षाका उपाय अपनाइने बताए । उनले पहिरो जाँदा हाइड्रोपावरलाई ठुलो आर्थिक क्षति हुने हुँदा हाइड्रोपावरसँगै स्थानीयको घरको सुरक्षाका उपाय कम्पनीले अपनाएर निर्माण गरिरहेको पौडेलको भनाइ छ । उनले भने, “जति सक्दो छिटो काम सकेर जोखिम कम गर्ने तयारी भइरहेको छ । बर्खा लाग्नुअघि हामीले उहाँहरूको व्यवस्थापन गर्छौं ।”
लामो समयदेखि चर्चामा रहेको निर्माणाधीन सिद्धि हाइड्रोपावरको हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको छ भने आगामी वैशाखसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।
इलामको सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकाबिचबाट बग्ने खोलामा विद्युत् विकास बोर्डले २०६९ पुस २४ मा ऊर्जा मन्त्रालयमार्फत वातावरणीय अवस्था परीक्षण प्रतिवेदन स्वीकृत गरी स्वीकृति दिएको थियो । ३५ वर्ष बहाल रहने गरी अनुमती जारी गरेपछि सिद्धि हाइड्रो कम्पनीले २०८१ कात्तिक २६ गते थप अध्ययनका लागि विद्युत् विकास विभागबाट सहमति प्राप्त गरेको थियो । आयोजनाको निर्माणाधीन हेडबक्स रोङ–६ र सूर्योदय–५ को गोरखखोलाको एक हजार पाँच सय मिटरमाथि रहेर विद्युतगृह एक किलोमिटर तल निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्