लक्ष्मी उप्रेती,
मेचीनगर । स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा झापाको मेचीनगर—६ मा रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच वटा संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामी चैत ५ गते हुने निर्वाचनमा सहभागी हुन विद्यार्थी संगठनको नाम दर्ता भएको हो । काँकरभिट्टा बहुमुखी क्याम्पसका निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुइटेलका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन, नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन एस दर्ता भएका हुन् । लुइटेलले निर्वाचनका लागि क्याम्पसमा ती संगठनको मनोनयन दर्ता गरिएको बताए ।
क्याम्पसले निर्वाचनतालिका समेत सार्वजनिक गरेको सदस्य लुइटेलले जानकारी दिए । चैत ५ गतेको निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन दुईपटक भोगेको पराजयको बदला लिने दाउमा छ भने काँग्रेसनिकट नेपाल विद्यार्थी संघलाई पुरानो विरासत जोगाउनु पर्ने चुनौती छ ।
२०७३ साल फागुन १८ मा पहिलो पटक भएको स्ववियू निर्वाचनमा नेवि संघका सुरज सुवेदीको प्यानलले निर्वाचन जितेको थियो भने २०७९ साल चैत १० गते दोस्रो पटक सम्पन्न निर्वाचनमा नेवि संघका विशाल तामाङ सभापतिमा विजयी भए ।