झापा, फागुन २२ । २०७९ को संघीय निर्वाचनमा झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै कारण टिकट नपाएपछि एमाले छोडेका दुर्गा प्रसाई तिनै लिङदेनसंग अहिले नजिकिएका छन् ।

हिजो राप्रपाले राजधानीमा निकालेको मोटरसाइकल र्यालीमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका संयोजक प्रसाई सहभागी भएका थिए । लिङदेन र प्रसाई एकै ठाउँमा उभिएर हात हल्लाइरहेको दृश्यले दुवै जना एकदमै निकट भएको आभास मिलेको छ ।
लोकतन्त्रवादी शक्तिहरुविरुद्धको राजावादीहरुको आन्दोलनले उनीहरुलाई एक ठाउँमा ल्याएको हो । यद्धपि दुवैबीचको सम्बन्ध टिकाउ हुन्छ कि हुँदैन भनेर राजावादीहरुमै आशंका देखिएको छ । किनकि टिकट नपाएको तिक्तताकै कारण एमाले छोडेर विगत दुई वर्षदेखि राजसंस्था फिर्ता ल्याउने अभियानमा लागेका प्रसाई र त्यही नारा बोकेको राप्रपाबीच यसअघि समन्वयसमेत हुन सकेको थिएन ।
२०७९ को निर्वाचनमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिने ठूलो धोको राखेका थिए । भोट माग्न शुरु गरिसकेको अबस्थामा एमालेले राप्रपासंग चुनावी एकता गर्दै अध्यक्ष लिङ्देनलाई सघाउने निर्णय गरेको थियो । त्यसपछि आक्रोशित भएका प्रसाई एमाले र राप्रपाका लिङ्देनविरुद्ध खरोरुपमा प्रस्तुत भएका थिए । प्रसाईलाई एमालेले निष्कासनको प्रक्रिया अगाडि बढाएपछि उनले एमाले छोड्ने घोषणा गरेका थिए । उनलाई एमालेको प्रदेश कमिटीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रमा सिफारिस गरेको थियो ।