झापा, फागुन २३ । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट पदाधिकारीतर्फ विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राईले ४४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत पाएका छन् । राईले ओझालाई ३९ मतान्तरले हराएका हुन् । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन् ।
उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन् । उनले ४२२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी शान्ति लिम्बूले ३९१ मत ल्याइन् । लिम्बू निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुन् ।
त्यस्तै सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४६२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी रविन थापाले ३६८ मत ल्याए ।सोमराज थापा निवर्तमान उपसचिव र रविन थापा निवर्तमान सचिव हुन् ।
उपसचिवमा सन्तोष बान्तवा राई ४९० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी इर्जालाल राजवंशीले ३११ मत ल्याए । उपसचिवमा उषा झा निर्वाचित भएकी छन् । झाले ४१८ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी शिल्पा निराला कार्कीले ४०५ मत ल्याइन् । झा जिल्ला समन्वय समिति उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन् ।
जिल्ला सदस्यहरुको भने मतगणना जारी छ ।
१६५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए । फागुन १७ देखि शुरु भएको अधिवेशनमा ९११ प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए ।