
झापा, फागुन २४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो ।
किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका किसानलाई हाल परिचयपत्र वितरण गर्दै आएको सिदिङ्वा गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । कृषि विकास शाखा प्रमुख विकास थेबेका अनुसार किसान सूचीकृत भई परिचयपत्र छपाई अर्थात बनेर आएका किसानलाई धमाधम परिचयपत्र वितरण गर्न थालिएको हो ।
गाउँपालिकाका सबै वडामा गरी हालसम्म किसान सूचीकरण प्रणालीमा एक हजार ८५० घर परिवार सूचीकृत भइसकेका छन् । सूचीकृत भएकामध्ये एक हजार ३०० किसान परिवारको परिचयपत्र छपाई भएर आएको र शुक्रबारसम्म ९०० जनालाई परिचयपत्र वितरण भएको शाखा प्रमुख थेबेले जानकारी दिए । उनका अनुसार वडा वडामा पुगेर किसानलाई परिचयपत्र वितरण गरिँदै आएको छ ।
किसान सूचीकृत परिवारका कसै एक जनाको नाममा परिचयपत्र बनेर आएको र सोही अनुसार हाल वितरणको क्रम जारी रहेको थेबेले बताए । यसअघि सूचीकरण हुन छुटेका किसानको वितरण सङ्कलनको काम पनि भइरहेको र २०७८ को जनगणना प्रतिवेदनअनुसार सिदिङ्वा गाउँपालिकामा करिब दुई हजार १०० किसान परिवार रहेका उनले जानकारी दिए ।
प्रणालीमा सूचीकृत भइसकेका र नयाँ सूचीकरण हुँदै आएको किसानको परिचयपत्र छपाई भएर आएपछि सम्बन्धित किसानलाई वितरण गरिने कृषि विकास शाखाले जनाएको छ । सरकारी निकायबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्नलाई किसानले आफ्नो परिचयपत्र प्रयोग गर्न सक्ने छन् । किसान पहिचान तथा सूचीकरणसँगै क्रमशः अवस्था वर्गीकरण गरिने र सो अनुसार कृषिसँग सम्बन्धित सेवा सविधा प्रवाहको योजना बन्ने बताइएको छ ।
यता किसान सूचीकृत भएपछि सरकारले प्रवाह गर्ने सेवा सुविधामा किसानको सहज पहुँच स्थापित गर्न, किसानलाई आवश्यक पर्ने महत्त्वपूर्ण सूचनालाई व्यवस्थित गर्नलगायतमा सहयोग पुग्ने छ । यस्तै परिचयपत्र पाएपछि किसान पनि उत्साहित बनेका छन् ।